काठमाडौ । गुन्द्रुक, भटमास र सिन्कीमा प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, प्रोटिन एवं फाइबर पाइन्छ । कोदो, फापरलगायतमा आइरन र फाइबर पाइन्छ ।
हाम्रा रैथाने परिकारहरू स्वास्थ्यवर्द्धक छन् । तराईमा चिउरा–भुजा गुँडमा मिसाएर खाने चलन छ, रोटी खाने चलन छ । पहाडमा कोदो, मकै, गहुँ खाने चलन छ । हिमाली क्षेत्रमा फापर, जौ, आलु पाइन्छ । भूगोलको हिसाबले पाइने यी खानेकुरा स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । फापरले मधुमेहका रोगीलाई फाइदा गर्छ ।
अहिले रैथाने खाना विस्तारै हराउँदै गएका छन् । यसलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्छ । चिकित्सकले पनि बिरामीलाई यस्ता खाना खान प्रेरिन गर्नुपर्यो । गाउँघरमा उत्पादन बढाउनलाई यसको प्रचारप्रसार गर्नुपर्छ । अहिलेको पुस्ताले खेतीपातीको महत्व बुझ्न छाड्यो ।
हरेक खानेकुराको स्वाद परिवर्तन गरेर खान सकिन्छ । यसलाई आधुनिकीकरण कसरी गर्ने भन्ने सोच्नुपर्छ । कसरी आयआर्जनको बाटो बनाउन सकिन्छ । गाउँघरमा भुटेका मकै, भटमास एवं मोही खाने चलन अहिले हराइसकेको छ । सजिलो र छिटोका लागि चाउचाउ पाक्न थालेको छ । समयको अभाव, सजिलै उपलब्ध हुने कारणले रैथाने खानाको ठाउँ बजारे खानाले लिएको छ ।
हामीले खाने दैनिक खानामा प्रोटिन पुग्दैन । नेवारी सेटमा गेडागुडी, मासु, चिउरा, अचार सबै हुन्छ । थकाली खानामा भातसँगै दाल, अचार, मासु, साग एवं तरकारी हुन्छ । यी खानेकुरा सबै कुराले भरपूर हुन्छन् ।
हामी विभिन्न पर्वमा परिकार बनाएर खान्छौं । केही अध्ययन–अनुसन्धान नभए पनि हाम्रा पुर्खाले बनाएको यो चलन वैज्ञानिक हिसाबले राम्रो छ । असार पन्ध्रमा दही, चिउरा र माघे संक्रान्तिमा कन्दमूल, घिउ–चाकु खान्छौं । असारमा गर्मी हुने भएकाले दही–चिउराले शरीरलाई शीतलता प्रदान गर्छ ।
त्यस्तै दहीका विभिन्न फाइदा छन् । माघे संक्रान्तिमा मौसम चिसो हुने भएकाले घिउ, चाकु, फापरका फुलौरा आदि खान्छौं । पर्वमा खाइने खाना पनि जाती एवं भूगोल अनुसार केही फरक हुन्छ ।
भूपाल बानियाँ, पोषणविद्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, १० : ५८
लेखकबाट थप