बमबहादुर कार्कीले दोहोरीगीत प्रतिष्ठानको सम्मानार्थ सदस्यता नलिने

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १३ : ३३
बमबहादुर कार्कीले दोहोरीगीत प्रतिष्ठानको सम्मानार्थ सदस्यता नलिने

काठमाडौं।अग्रज लोकगायक बमबहादुर कार्कीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको सम्मानार्थ सदस्यता अहिले नलिने भएका छन् । प्रतिष्ठानले लोक संगीतमा योगदान पुर्याएका ९ जना अग्रज कलाकारहरूलाई सम्मानार्थ सदस्यता प्रदान गर्ने घोषणा केही साताअघि गरेको थियो । 

सोमवार सम्मानार्थ सदस्यहरूलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम प्रतिष्ठानले तय गरेको छ । उक्त कार्यक्रममा गायक बमबहादुर कार्की भने सहभागी हुने छैनन् कार्कीको नेतृत्वमा केही साताअघि मात्रै गीत संगीतसम्बन्धी नयाँ संस्था दर्ता भएको छ । ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपाल’ नामक उक्त संस्थामा गायक विष्णु खत्रीदेखि राजु परियारसम्म छन् । 

 

‘भर्खरै हामीले नयाँ संस्था खोलेका छौँ । त्यसैले पनि अहिले मलाई सम्मानार्थ सदस्यतामा सहभागी नगराउनुहोस् भनेर  प्रतिष्ठानमा भनेको थिए’ कार्कीले लोकान्तरसँग भने, ‘सदस्यता लिन्न भनेर भनेको छैन । मलाई अहिले नगर्नुस्, गर्नै परे पछि गर्नुहोला भनेको हुँ ।’ आफू नयाँ संस्थाको काममा लागेकोले प्रतिष्ठानको सदस्यता अहिले नलिने भएको उनले बताए । 

गायक कार्कीले आफूहरुले नयाँ संस्था खोलेपछि सम्मानार्थ सदस्यता दिने प्रतिष्ठानको निर्णयलाई लिएर आश्चर्य व्यक्त गरे । ‘म वर्षौदेखि नेपालमै थिए । कार्यक्रमको शिलशिलामा बाहेक देश छाडेर नहिँड्ने कलाकारमा म पर्छु’ कार्कीले भने, –‘तर, हामीले संस्था दर्ता गरेपछि प्रतिष्ठानले सम्मानार्थ सदस्यता दिने भनेर सुनेँ ।

नयाँ संस्था खोल्नेबित्तिकै त्यसो चाहिँ नगरेको भए हुन्थ्यो भन्ने लाग्छ ।’ आफूहरूले प्रतिष्ठान नफुटाएको समेत उनले स्पष्ट पारे । ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ गीतसंगीतसम्बन्धी चिन्तनशील संस्था हुने कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस