चितवनमा जग्गाको मूल्याङ्कनमा ४० प्रतिशत वृद्धि

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १८ : ५३
चितवनमा जग्गाको मूल्याङ्कनमा ४० प्रतिशत वृद्धि

सुमन गैरे

भरतपुर । सरकारले चालु आर्थिक वर्षमा पनि एक पटकमात्र जग्गाको कित्ताकाट गर्न पाउने नियमलाई निरन्तरता दिएपछि खेतीयोग्य जमिन खण्डीकरण हुनबाट जोगाउन सकिने भएको छ ।
विगतमा एक लालपुर्जामा रहेको जग्गालाई जग्गा व्यवसायीले एकै वर्षमा पटकपटक कित्ता काटेर बेचबिखन गर्ने गरेका थिए । यसरी उनीहरुले खोला र सार्वजनिक जग्गासमेत बेच्न भ्याएका थिए भने खेतीयोग्य जमिनलाई खण्डीकरण गरी प्लटिङमा परिणत गरिएको थियो ।

यसैबीच मालपोत कार्यालय चितवनले यस वर्षदेखि जग्गाको मूल्याङ्कनमा ३० देखि ४० प्रतिशत वृद्धि गरेको छ । महानगर र नगरपालिका क्षेत्रका जग्गामा ४० प्रतिशत र गाउँपालिकामा ३० प्रतिशत वृद्धि गरिएको मालपोत कार्यालय चितवनका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित न्यूनतम मूल्याङ्कन समितिले उक्त मूल्यवृद्धि गरेको उनले बताए ।

चितवनको जमिन खेतीयोग्य र घडेरीमा रुपान्तरण भएको छ । राजमार्ग, सहायक मार्ग, अन्य बाटो र बाटो नभएको खेतीयोग्य जमिनको आधारमा जग्गाको मूल्याङ्कन गरिने प्रमुख पौडेलले जानकारी दिए ।

त्यसैगरी नेपाल सरकारले पूँजीगत लाभकरको दायरा ३० लाख बाट १० लाखमा झारेको पनि उनले जानकारी दिए । योसँगै १० लाख मूल्य बराबरको जग्गाको मूल्याङ्कन हुँदा जग्गाधनीले ५ प्रतिशत लाभकर बुझाउनु पर्ने हुन्छ । महिलाको हकमा लागेको राजश्वको २५ प्रतिशत छुटको व्यवस्था कायमै राखिएको मालपोत प्रमुख पौडेलले बताए ।
यसैबीच मालपोत कार्यालय चितवनले गत आर्थिक वर्ष ०७३/०७४ मा एक अर्ब ५९ करोड ९६ लाख १२ हजार १ सय १३ रुपैयाँ राजस्व संकलन गरेको छ । जसमा लिखतबाट एक अर्ब २५ करोड २३ लाख १७ हजार ५ सय ३० रुपैयाँ, सेवा वापत ८ करोड १६ लाख ७४ हजार १ सय ६२ रुपैयाँ र लाभकरबाट २६ करोड ५६ लाख २० हजार ४ सय २१ रुपैयाँ संकलन भएको सो कार्यालयका सूचना अधिकारी हेमकुमार तिमिल्सिनाले जानकारी दिए ।

सो आर्थिक वर्षमा ४० हजार ८ सय ६९ वटा लिखत (कित्ता काट) गरिएको र ११ हजार ७ सय ६७ वटा धितो (सेवा) को काम सम्पन्न भएको सूचना अधिकारी तिमिल्सिनाले बताए ।
त्यसैगरी आर्थिक वर्ष ०७४/७५ मा १९ हजार ९ सय ६९ वटा लिखत र १० हजार ७ सय ५१ वटा धितो (सेवा)को काम हुँदा ९९ करोड १५ लाख ९ सय ५२ रुपैयाँ राजश्व संकलन भएको पनि मालपोत कार्यालयका अधिकृत एवम् सूचना अधिकारी हेमकुमार तिमिल्सिनाले बताए । जसमा लिखतबाट ७३ करोड ५२ लाख ५ हजार २ सय ५९ रुपैयाँ, सेवाबाट ५ करोड ९८ लाख ५१ हजार ३ सय ४० र लाभकरबाट १९ करोड ५० लाख ९४ हजार ३ सय ५४ रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।

गतवर्षको तुलनामा राजश्व संकलन घटेको देखिन्छ । खैरहनी, चनौली, माडीमा पनि मालपोत कार्यालयहरु खुलेपछि र वर्षमा १ पटक कित्ताकाट गर्न पाउने नियमले गर्दा मालपोत कार्यालय भरतपुरमा राजस्व संलकन घटेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस