बिनासम्झौता केवुलतार, एनसेलले तिरेन बक्यौता

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १८ : ०६
बिनासम्झौता केवुलतार, एनसेलले तिरेन बक्यौता

सुमन गैरे

चितवन । इन्टरनेट प्रदायक निजी कम्पनीहरुले सम्झौता नगरी विद्युत र नेपाल टेलिकमका पोल प्रयोग गरी राजस्व छली गरेका छन् । नाफामूलक कम्पनी एनसेलले सम्झौता गरेर पनि दुई वर्षदेखि राजस्व बुझाएको छैन ।

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार आभोर, भायनेट, प्राइमनेट, नेटलिंक जस्ता निजी कम्पनीहरुले सम्झौता नै नगरी पोलको प्रयोग गरी इन्टरनेट बिक्री गरिरहेका छन् । यी मध्ये केही कम्पनीहरु सम्पर्कमा आए पनि सम्झौता नगरेको भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर सुरेशकुमार महतोले बताए ।

त्यसैगरी एनसेलले आर्थिक वर्ष ०७३/७४ र ०७४/०७५ मा तिर्नुपर्ने राजस्व हालसम्म तिरेको छैन । एनसेलले ४ लाख ९ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको कार्यालय प्रमुख महतोले जानकारी दिए । महानगरभित्र वार्षिक १ पोल बराबर ३ सय २५ रुपैयाँ र नगरपालिकामा २ सय रुपैयाँ तोकिएको उनले बताए ।


चित्रवन युनिक केबुल टिभी, वल्र्ड लिंक, एनसेल, नेपाल टेलिकमले पूर्व स्वीकृति लिई सम्झौता गरेर तार टाँगेको बताइएको छ ।

चित्रवनले प्राधिकरणलाई वार्षिक ५ लाख ५ सय रुपैयाँ, वल्र्डलिंकले १ लाख ३० हजार ५ सय ६० रुपैयाँ तिर्ने गरेको सो कार्यालयले जनाकारी दिएको छ । चित्रवनले २ हजार ४ सय ४१, एनसेलले १ हजार ९ सय ५६ वटा र वल्र्ड लिंकले १ हजार ३ सय ५ वटा विद्युत पोल महानगर क्षेत्रमा प्रयोग गर्दै आएको प्राधिकरणले जानकारी दिएको छ ।

सम्झौता नगरी जथाभावी तार टाँगेर केबुल लाइन तानेका कम्पनीहरुको खोजी गरी कारबाही गरिने भरतपुर वितरण केन्द्रका प्रमुख महतोले बताए । केही केबुल कम्पनीहरुले विना स्वीकृति निजी घरको प्रयोग गरी तार टाँगेका छन् ।
उता नेपाल टेलिकमको पोल प्रयोग गर्न सुपरनेट, भायनेट, वल्र्ड लिंक, चित्रवन युनिक केबुल टिभीले र टेकमाइण्ड कम्पनीले सम्झौता गरेको टेलिकम भरतपुरका सूचना अधिकारी एवम् वरिष्ठ इन्जिनियर गेहेन्द्र सुवेदीले बताए ।

 

प्रतिक्रिया दिनुहोस