लोकतन्त्र, बहुलवाद र मानवाधिकारप्रति नेपालको अटल प्रतिबद्धता

रासस

शुक्रबार, १८ साउन २०७५, १९ : ५२
लोकतन्त्र, बहुलवाद र मानवाधिकारप्रति नेपालको अटल प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवाधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७० औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधानले निर्देश गरेअनुसार संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्त, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका आदर्श देशको परराष्ट्र नीति सञ्चालनका आधारस्तम्भ हुन् भन्नुभयो । उहाँले मुलुकको राष्ट्रिय हित र स्वार्थ मुखरित हुने स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले ‘सबैसँग मैत्री’ विश्व समुदायसँगको नेपालको साझेदारीको विशेषता भएको, सार्वभौम समानता, पारस्परिक हित, न्याय र आपसी सम्मानमा आधारित भएर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन भइरहेको र नेपालले १६१ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्रीले मानवाधिकारसम्बन्धी २४ अभिसन्धिमा नेपाल पक्ष राष्ट्र रहेको जानकारी दिनुभयो ।
देशको सामाजिक–आर्थिक विकासलाई वर्तमान सरकारले उच्च प्राथमिकता दिएको दोहो¥याउँदै उहाँले आर्थिक रुपान्तरण हासिल गर्ने जनचाहना पूरा गर्न पनि सरकार दृढ रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्रीले कूटनीतिक सक्रियतासहित देशमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग, आर्थिक उन्नयनका लागि सशक्त आर्थिक कूटनीतिको सञ्चालन, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरण, निर्यात व्यापार वृद्धिजस्ता अनेक मामिलामा अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन कूटनीतिक संयन्त्र सधैँ क्रियाशील छ भन्नुभयो ।

उहाँले भारतसँग समाधान गर्न बाँकी विषय आगामी असोज १४ गतेभित्र सम्बोधन गरिने जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो ।

चीन–नेपाल सम्बन्ध पनि शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेको भन्दै उहाँले एक चीन नीतिप्रतिको नेपालको धेरैअघिदेखिको नीतिमा कुनै हेरफेर नरहेको र त्यसमा नेपाल अडिग रहेको प्रष्ट पार्नुभयो ।

परिषद् अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव असिम थापा र सचिव भुवन पाठकले परिषद्का गतिविधि र त्यसको ७० वर्षे यात्राका आरोहअवरोहको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस