कोरला नाका तत्काल खुलाउन सके नेपालमा पर्यटकहरुको वृद्धि हुने विश्वास :निर्देशक डा.रेग्मी

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, १३ : ००
कोरला नाका तत्काल खुलाउन सके नेपालमा पर्यटकहरुको वृद्धि हुने विश्वास :निर्देशक डा.रेग्मी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल—चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउन सके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताएका छन् । बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरु पोखरा आउने सम्भावना उच्च रहेको बताए ।

उनले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समयसमयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरु वृद्धि गर्न सकिने बताए। उनले भने, ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाएँदै लैजान सकियो भने विमानस्थल नियमति सुचारु हुनसक्छ । यहाँ हामीले विभिन्न फेस्टिबलहरु बारम्बार गरिरहनुपर्छ । दोस्रो मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’

 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताए । उनले चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको पनि बताए । 
प्रमुख आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिए ।  

प्रतिक्रिया दिनुहोस