शुरु भयो सुनवाई समितिको बैठक, जोशीलाई अस्वीकृत गर्ने तयारीमा नेकपा

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १७ : ११
शुरु भयो  सुनवाई समितिको बैठक, जोशीलाई अस्वीकृत गर्ने तयारीमा नेकपा

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन संसदीय सुनवाई समितिको बैठक शुरु भएको छ ।  त्यसअघि दुवै पक्ष आन्तरिक छलफलमा व्यस्त थिए । यसअघि बसेका बैठकले निर्णय गर्न नसकेपछि बैठक आजका लागि बोलाइएको हो ।

जोशीको नाम अनुमोदन गर्न बैठक तीन बजेका लागि बोलाइएपनि झण्डै एक घण्टापछि मात्रै बैठक सुरु भएको हो । समितिका सदस्यहरु ढिला गरी त्यहाँ पुगेका थिए ।
बैठक शुरु हुनु अगाडि समितिका सदस्य रहेका नेकपाका सांसदहरु योशेश भट्टराई, सुरेन्द पाण्डे, पूर्णाकुमारी सुवेदी, निरु पाललगायतले संसदका महासचिव मनोहरप्रसाद भट्टराईसँग भेट गरेका थिए ।
आजको बैठकबाटै उनको नाम अस्वीकृत गर्ने तयारीमा नेकपा रहेको छ । जसलाई फोरम नेपालका एक सांसदले समर्थन गरेमा सहजै जोशीको नाम अस्वीकृत हुन सक्छ । सत्तापक्षले जोशीलाई अस्वीकृत गर्ने थप प्रमाणहरु जुटाएको एक सांसदले जानकारी दिए ।

उनको शैक्षिक प्रमाणपत्र सबैभन्दा बढि विवादमा परेको छ । त्यसबाहेक उनलाई न्यायाधीशमा सिफारिस गर्दा नै आएका तथ्य लगायतका प्रमाण पनि नेकपाका सांसदले जुटाएका छन् । फोरम नेपालका राजेन्द्र श्रेष्ठले नेकपाको प्रस्तावमा समर्थन जनाए उनी स्वतः अस्वीकृत हुनेछन् । नेकपाले सकेसम्म सहमति कायम गर्ने प्रयास गरेको छ । त्यसैले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग पनि यसअघि कुराकानी भएको थियो ।

तर कांग्रेसले अस्वीकृत गर्न नहुने र प्रमाणपत्र छानबिनका लागि विशेष समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ । जबरजस्ती गरिए बहिस्कार गर्ने चेतावनी कांग्रेसले दिएको छ । यसअघिको बैठकमा पनि समितिले जोशीको नाम अनुमोदन गर्न सकेन ।
सोमबार बसेको समितिको बैठकमा कांग्रेस नेताहरुले छलफलका लागि समय माग गरेपछि बैठक दुईदिन पर सारिएको समितिका सदस्य तथा नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस