सुनुवाई समितिको बैठक : जोशीबारे कुनै निर्णय नगरी स्थगित

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०७५, १७ : १४
सुनुवाई समितिको बैठक : जोशीबारे कुनै निर्णय नगरी स्थगित

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे कुनै निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगन भएको छ । सिंहदबारमा दिउँसो बसेको बैठक जोशीबारे निर्णय नै नगरी  साउन १६ गते दिउँसो तीन बजेका लागि सरेको छ ।

निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको हो ।  समितिका जेष्ठ सदस्य  लक्ष्मणलाल कर्णले  जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रधानन्यायाधीश सिफारिश जोशीको गत बिहीबार  संसदीय सुनुवाइ भएको थियो । त्यसयता शुक्रबारको बैठक सरेको थियो भने आइतबार बैठकमा सामान्य छलफल भएको थियो । सुनुवाइ समितिका सदस्यहरु जोशीको सुनुवाइप्रति असन्तुष्ट थिए ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।  त्यस्तै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको, प्रमाणपत्रको उजुरीबारे जोशीले दिएको जवाफ सांसदहरुले चित्त बुझाएका थिएनन् ।

जोशी ‘प्रधान सेनापति’को शैलीमा प्रस्तुत भएको आरोप सांसदहरुले लगाएका थिए । सुनुवाइमा असन्तुष्ट नेकपाका सांसदहरुले जोशीलाई अस्वीकार गर्न पार्टी नेतृत्वसँग लबिङ गरेका थिए । नेकपाको नेतृत्वले ‘ग्रिन सिग्नल’ नदिँदा सुनुवाई समितिको बैठक तीन दिन सरेको थियो ।

सुनुवाइ समितिमा नेपाली कांग्रेसले भने जोशीको पक्षमा मत दिने भएको छ । सुनुवाइ समितिका कांग्रेसका चार सांसद छन्।

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनुहोस