विराटनगरको लगातार दोस्रो जित, पोखरा ३ विकेटले पराजित

बुधबार, ०५ पुस २०७४, १४ : ००
विराटनगरको लगातार दोस्रो जित, पोखरा ३ विकेटले पराजित

टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा विराटनगर वारिवर्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा ललितपुर प्याट्रिएट्सलाई पराजित गरेको विराटनगरले बुधबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको हो  ।  

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पोखरा राइनोजले दिएको १२३ रनको लक्ष्य विराटनगरले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो  ।  विराटनगरका लागि अंशुमान रथले अर्धशतकीय पारी खेले । रनआउट हुनुअघि रथले ६१ बलमा ६० रनको महत्वपूर्ण योगदान गरे । रथले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, बाबर हायातले २२ तथा कप्तान पारस खड्का ११ रनमा आउट भए  ।

विराटनगरले ५ रन पेनाल्टी रन पाएको थियो । विराटनगरका प्रनित थापा मगर ९ रनमा अविजित रहँदा करण केसी पनि २ रनमा अविजित रहे  । पोखराका सुशन भारी र इसरार उल्लाहले समान २–२ विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । पोखराको लागि राजेश पुलामी मगरले ३०, इसरार उल्लाहले २१ रन जोड्दा ओपनर सुनिल धमलाले १८ रन बनाए ।  

त्यस्तै, पोखराका ताज वाली १८ रन तथा सौरभ खनाल १६ रनमा अविजित रहे । विराटनगरका कप्तान पारस खड्काले ३ तथा राम नरेश गिरी, वसन्त रेग्मी र अभिनाश कर्णले समान एक एक विकेट लिए ।

यो जितसँगै विराटनगर २ खेलबाट ४ अंक जोडेर लिगको शिर्ष स्थानमा उक्लिएको छ । विराटनगरले पहिलो खेलमा ललितपुरलाई ६ रनले पराजित गरेको थियो । यता, पोखराले पहिलो हार बेहोरेको हो । पहिलो खेलमा पोखराले चितवन टाइगर्सलाई १० विकेटले पराजित गरेको थियो । समान २–२ अंक जोडेको ललितपुर दोस्रो र पोखरा तेस्रो स्थानमा छन् ।

राउन्ड रोविन लिगका आधारमा जारी लिगको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस