काठमाडौँ । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ ।नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ति जारी गर्दै सरकारले विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेका हुन् । “विदेश जानका लागि सरकारले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ,” अध्यक्ष थापाले भनेका छन्।
नाट्टाले कोरोना महामारीपछि तङ्ग्रीदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महङ्गो रहेको अवस्थामा भ्याट थप्दा भाडादर झनै महङ्गो पर्ने र यात्रुले खरिद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ । पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयविना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकूल असर पर्ने नाट्टाले जनाएको छ । बजेटले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु गलत भएको अध्यक्ष थापाको भनाइ छ ।
नाट्टाले सन् २०२३ देखि २०३२ लाई पर्यटन भ्रमण दशकका रुपमा मनाउने निर्णय बजेटमार्फत गरिनु सकारात्मक पक्ष भएको जनाएको छ ।निजगढ विमानस्थल निर्माण गर्ने, अन्य विमानस्थलको स्तरोन्नति गर्ने, सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने, नयाँ गन्तव्यस्थलको पहिचान र पूर्वाधार विकास गरिनु सकारात्मक भएको अध्यक्ष थापाले बताए ।गत आर्थिक वर्षको तुलानामा आव २०८०/८१ का लागि पर्यटन क्षेत्रमा रु दुई अर्ब ५० करोडभन्दा बढी रकम थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुसीको कुरा भएको नाट्टाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, ११ : ०६
लेखकबाट थप