काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् ।‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गरे ।
थापाथलीबाट सुरु भएको यो दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर पूरा भएको थियो ।प्रतियोगितामा आर्मीकै राजन रोकाय १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।
पुरुषतर्फ आर्मीका खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेर चौथो र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा पूरा गरेर पाँचौ भए । गत वर्ष यो उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका थिए ।महिलातर्फकी विजेता राजपुराले गत वर्ष पनि यो उपाधि जितेकी थिइन् । उनले १ घन्टा १९ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन्, गत वर्ष भने उनले १ घन्टा १९ मिनेट ६ सेकेन्डमा पूरा गरेकी थिइन् ।
पुलिसकै राममाया बुढाले १ घन्टा २३ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो, एपीएफकी पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरेर तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा २६ मिनेट २३ सेकेन्डमा पूरा गरेर चौथो र गीता बिकले १ घन्टा २९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर पाँचौ भए ।हाफ म्याराथनमा पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।
ह्विलचेयर दौडमा खत्रीलाई उपाधि
कान्तिपुर हाफ म्याराथन अन्तर्गतले ह्विलचेयर दौडको उपाधि रमेश खत्रीले जिते । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार गरे । थापाथलीबाट सुरु भएको ह्विलचेयर दौड माइतीघर मण्डला फन्को लगाएर पुनः थापाथली आएर टुंगिएको थियो । त्यस्तै दान थिङले ७ मिनेट ३५ सेकेन्डमा पूरा गरेर दोस्रो, रामकाजी मिजारले ८ मिनेट ५२.८४ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।महिलातर्फ ऐश्वर्या कुमालले १० मिनेट ९.७८ सेकेन्डमा दौड पूरा गरेर उपाधि जितिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१.०७ सेकेन्ड र पेमाले ११ मिनेट २५.१० सेकेन्डमा दौड पूरा गरे ।ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
कर्पोरट रनमा विकेश र सुनितालाई उपाधि
कान्तिपुर हाफ म्याराथन अन्तर्गत नै भएको ५ किलोमिटरको कर्पोरेट रनमा पुरुषतर्फ विकेश घिमिरे र महिलातर्फ सुनिता महर्जन विजयी भए । विकेशले १४ मिनेट ३६.३ सेकेन्डमा दौड पूरा गरे भने सुनिताले २३ मिनेट २३.९० सेकेन्डमा पूरा गरिन् ।पुरुषतर्फ १४ मिनेट ४६.७ सेकेन्डमा दौड पूरा गरेर विकास पोखरेल दोस्रो र १५ मिनेट ००.६ सेकेन्डमा पूरा गरेर अनिश लामा तेस्रो भए ।महिलातर्फ विनिता महर्जनले २३ मिनेट ३०.२९ सेकेन्डमा पूरा गरेर दोस्रो र एलिना श्रेष्ठले २६ मिनेट ०७.४९ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।
कलेज रनमा पुकार र सुशन विजयी
कान्तिपुर हाफ म्याराथन अन्तर्गत नै ७ किलोमिटरको कलेज रनको उपाधि पुरुषतर्फ पुकारजंग बस्नेत र महिलातर्फ सुशन कार्कीले जिते ।पुकारले २४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरे भने सुशनले २७ मिनेट २९.५६ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेर रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेर समिप थुलुङ राई तेस्रो भए ।
महिलातर्फ निशम हाङ सुब्बाले ३१ मिनेट ०७.५० सेकेन्डमा दौड पूरा गरेर दोस्रो र मिनिशा पन्तले ३२ मिनेट १८.४२ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।सिटी म्याराथनको अवधारणामा भइरहेको कान्तिपुर हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । उनले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै कर्पोरेट क्षेत्रबाट विभिन्न उद्देश्यमा जनचेतना जगाउँदै खेलकुद प्रतियोगिता हुनु सकारात्मक रहेको बताए ।यसपालि कान्तिपुर हाफ म्याराथनमा ४ हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १३ : ५२
लेखकबाट थप