कानुनी लडाइँ हारेपछि आतंकको सहारा

चितवनमा तीनपांग्रे चालकद्वारा प्रहरी चौकी जलाउने प्रयास, प्रहरीबाट अश्रुग्यासपछि हवाईफायर

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०७५, १५ : १४
चितवनमा तीनपांग्रे चालकद्वारा प्रहरी चौकी जलाउने प्रयास, प्रहरीबाट अश्रुग्यासपछि हवाईफायर

चितवन । भरतपुर महानगरपालिकाले राजमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी चलाउन नदिने भनेपछि अदालतमा मुद्दा दिन पुगेका तीनपांग्रे यातायात व्यवसायी कानुनी लडाइँ हारेपछि आतंकको सहारा लिन पुगेका छन् । तीनपांग्रे चालकहरुले भरतपुरमा बुधबार दिउँसो बसपार्कस्थित प्रहरी चौकी तोडफोडपछि जलाउने प्रयास गरेपछि प्रहरीले जवाफी कारबाहीमा अश्रुग्यास प्रहार र हवाईफायर गरेको छ ।
महानगरपालिकाको निर्णय फिर्ता गराउने आन्दोलनका नाममा अराजक भीड जम्मा भएर राजमार्गमा चक्काजाम गरी सडकमा रहेको ना१६प ९४०७ नं.को एउटा मोटरसाइकलमा आगजनी गरेर नपुगी भरतपुरस्थित केन्द्रीय बस टर्मिनलनजिक रहेको प्रहरी चौकी नै जलाउने प्रयास गरेपछि प्रहरीले दर्जनौँ राउण्ड अश्रुग्यास हानेको थियो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले केही राउण्ड हवाईफायर गरेको थियो । तीनपांग्रे सवारी चालकले प्रहरीमाथि ढुंगामुढा गर्नुको साथै अश्रुग्यास समातेर प्रहरीतर्फ नै फ्याँकेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार तोडफोड र आगजनीमा संलग्न चौध जनालाई पक्राउ गरिएको छ । झडपका क्रममा १२ जना प्रहरी र तीन जना आन्दोलनकारी घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर चार, नवलपुरका महेन्द्र सुनारलाई घुँडामा गोली लागेको र उनलाई अन्य आन्दोलनकारीले अस्पताल पु¥याएको एक जना प्रत्यक्षदर्शीले बताए । प्रहरीले सडकमा बालिएको टायर निभाएर यातायात पूर्ववतरुपमा सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।
अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् व्यवसायीबीच छलफल भएपनि सहमति हुन सकेन । राजमार्गमा तीनपांग्रे गुड्न पाउनुपर्ने अडान मजदुरहरुले नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप  भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनैपनि हालतमा तीनपांग्रे गुड्न नदिने बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस्,
राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपांग्रे व्यवस्थापन गर्न बाटो खुल्ला

 

 

प्रतिक्रिया दिनुहोस