वित्तीय अपराधको जोखिम बढ्दै : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १९ : ०१
वित्तीय अपराधको जोखिम बढ्दै : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वित्तीय कारोबारका लागि विकास भइरहेका विद्युतीय संरचनाका कारण वित्तीय अपराधको जोखिम बढ्दै गएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा ’एसिया प्यासिफिक ग्रुप अन मनिल लन्ड्रिङ’को २१ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विद्युतीय माध्यमबाट हुने भुक्तानी र पैसा आदानप्रदानका लागि बनेका संयन्त्रका कारण वित्तीय कारोबारमा जोखिम बढिरहेको बताउनुभएको हो । अर्थमन्त्री खतिवडाले भूक्तानीमा भएका आधुनिक प्रविधिको विकास र गैर बैंकिङ भूक्तानीका संयन्त्र अहिलेको मुख्य चुनौती भएको बताउनुयो । बढ्दो वित्तीय जोखिम र गैरकानुनी क्षेत्रमा हुने लगानीलाई नियन्त्रणका लागि नियमनकारी निकायले यस्ता क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफ्नो क्षमता बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नियमनकारी निकायले जोखिम न्यूनीकरणमा सूचना आदानप्रदान गरेर समन्वय गर्नुपर्ने धारणा राख्नुभयो ।
 कार्यक्रममा अर्थसचिव डाक्टर राजन खनालले वित्तीय सुरक्षालाई जोड दिएर पारदर्शी कारोबार प्रणाली स्थापित गर्न सरकारले काम गरिरहेको बताउनुभयो । एसिया प्रशान्त क्षेत्रका ४५ देश र १० अन्य संस्थासमेत गरी ५५ अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिसम्मिलित यो बैठक शुक्रबारसम्म चल्नेछ । बैठकका क्रममा एसिया प्रशान्त क्षेत्रमा हुने सम्पत्ती शुद्धिकरण, आतंकवादी क्रियाकलापमा कालोधनको प्रयोग नियन्त्रण, आपसी संयन्त्र विकास लगायतका विषयमा छलफल हुने बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस