कानुनमन्त्री तामाङलाई राजीनामा दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १२ : ५३
कानुनमन्त्री तामाङलाई राजीनामा दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्देशन

काठमाडौँ । कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्देशन दिएको छ ।  तामाङले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।

मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस