नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुदीप

सोमबार, ०७ साउन २०७५, १६ : २२
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुदीप

सियाटल (अमेरिका) l नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा सुदीपराज पन्त चुनिएका छन् । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङटनको सियाटलमा सम्पन्न नेजाको छैठौँ अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो ।

नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो । निर्विरोध रुपमा चयन भएका पदाधिकारीहरुमा विकासराज न्यौपाने, किरण मरहट्ठा, सुरज भण्डारी र मच्छेदेवी गुरुङ क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा रहेका छन् । त्यस्तै क्षेत्रीय संयोजकहरुमा पूर्बक्षेत्रबाट कल्पना घिमिरे, डिसी भर्जिनिया मेट्रोक्षेत्रबाट लीलादेवी ओझा, मध्यक्षेत्रबाट रामचन्द्र भट्ट र पश्चिमी क्षेत्रबाट गोकुलप्रसाद ढकाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निदेश अधिकारी, शेरबहादुर केसी र बाबुराम खरेल रहेका छन् । कार्यसमितिको पहिलो बैठकले रिक्त एक सदस्य पदमा नेजाका पूर्ब सचिव अग्नीप्रसाद चौलागाईलाई मनोनयन गर्ने निर्णय गरेको छ । सोही बैठकले नेजाको पूर्ब कार्यसमिति, निर्वाचन आयोग, नेपाल पत्रकार महासंघ र अधिवेशन आयोजक समितिलाई धन्यवाद प्रस्ताव समेत पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष पन्त अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलसमा बस्दै आएका छन् ।

साधारण सभाको उद्घाटन शनिबार नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रममा आचार्यले नेजानै अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था रहेकोले नेपाल पत्रकार महासंघसँग आवद्धता रहेको उल्लेख गरे । आचार्यले आगामी दिनमा पत्रकार महासंघको साधारण सभामा नेजालाई प्रतिनिधिको हैसियतमा सहभागी हुन समेत आव्हान गरे ।

नेजा र महासंघबीच सन् २०१३ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो पत्र अनुसार नेजा र महासंघबीच समन्वयमा बिभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । सोही समझदारीपत्र अनुसार नेजाले स्थापना गरेको दुई लाख २२ हजार २ सय २२
रुपैयाँ राशीको ग्रामीण पत्रकारिता पुरस्कार यसवर्ष ओखलढुंगास्थित कान्तिपुर संवाददाता कुम्भराज राईलाई प्रदान गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस