पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन प्रचण्डको आग्रह

सफल खबर संवाददाता

सोमबार, ०७ साउन २०७५, १४ : ०८
पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन  प्रचण्डको आग्रह

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई एकताका लागि आहृवान गरेका छन् । विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीहरु सल्बलाइरहेकाले पनि पार्टीभित्रको एकतालाई अझै सुदृढ बनानुपर्ने धारणा राखे । त्यस्तै उनले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘डा. गोविन्द केसीको अनशनमा हामी सबैले मिलेर जानुपर्छ भनेका छौं । उहाँको जीवनरक्षाको लागि हामीले तीन जना डाक्टरको सल्लाहअनुसार जुम्लाबाट ल्याएका हौं । हामीले वार्ता टोली बनाइसकेका छौं । तर, यहाँ के भइरहेको छ भने, ‘उहाँसँग वार्ता गर्न पनि नदिने, समस्याको समाधान गर्न पनि नदिने । सरकारी डाक्टरहरुलाई बिरामी चेक गर्न पनि नदिने काम भइरहेको छ । वार्तामा त लेनदेन हुन्छ, तर लेनदेन गर्न पनि गर्न नदिने । एउटै कुरा अध्यादेश जस्ताको तस्तै ल्याए मात्र मान्छौं भन्ने छ ।’

उनले शिक्षा क्षेत्रमा समस्या रहेको भन्दै सबै समस्याहरुलाई हल गर्न उच्च शिक्षा आयोग बनाउन सरकार तयार रहेको पनि बताए । उनले संविधान सबैले मान्नुपर्नेमा जोड दिए । ‘संविधान सबैले मान्नुपर्छ, केही तत्वहरुले अराजकता निम्त्याउन खोजिरहेका छन् । एकाध मान्छेले जे भन्यो, त्यही गर्ने हो भने किन चाहियो संविधान ? किन चाहियो स्थानीय तह ?’

प्रतिक्रिया दिनुहोस