विपन्न समुदायको उत्थानको लागि पाडी वितरण

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १६ : ०२
विपन्न समुदायको उत्थानको लागि पाडी वितरण

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६, शरणपुरमा रहेको सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तामध्ये विपन्न १५ परिवारलाई प्रतिपरिवार एउटाको दरले जम्मा १५ वटा पाडी अनुदानमा वितरण गरेको छ ।
उनीहरुको जीवनस्तर उकासे र आत्मनिर्भर गराउने उद्देश्यले पाडी वितरण गरिएको वन उपभोक्ता समूहले जनाएको छ । सामुदायिक वनले आइतबार एक समारोहबीच पाडी वितरण गरेको हो । कार्यक्रममा बोल्दै वनका अध्यक्ष नन्दप्रसाद भट्टले सामुदायिक वनको गरिबी निवारण अन्तर्गत यस वर्ष पाडीहरु वितरण गरिएको जानकारी दिनुभयो । प्रत्येक पाडीको मूल्य १५ हजार रुपैयांँ रहेको छ ।
वन कार्यालय चितवनका वन अधिकृत केदारनाथ पौडेलले जिल्लामा ८९ वटा सामुदायिक वन रहेको जानकारी दिँदै सामुदायिक वन र वन्यजन्तुको संरक्षणमा समुदायको ठूलो भूमिका रहेको बताउनु भयो । सामुदायिक वनको ३५ प्रतिशत आम्दानी गरिबी निवारणमा खर्च गर्ने व्यवस्था रहेको भन्दै वनले यस्ता समुदायको उत्थान गर्नेमा सहयोग पुग्ने बताउनु भयो ।
वडाका अध्यक्ष चतुरमान गुरुङले सामुदायिक वनले गरेको कार्यको प्रशंसा गर्दै लक्षित वर्गलाई यस्ता कार्यक्रम गरी वनले सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । सामुदायिक वनको संरक्षण र यसलाई पर्यटन क्षेत्र बनाउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनु भयो । सामुदायिक वनको ७ वटा ब्लकमा रहेका ब्लक नं. १ का ३ जनालाई र अन्य ब्लकमा २ वटाको दरले पाडी वितरण गरिएको थियो ।
सेतीदेवी सामुदायिक वन नारायणगढ बजारबाट ९ किमी पश्चिममा पर्दछ । १ सय ५२ हेक्टरमा फैलिएको यस वनमाँ दुर्लभ वन्यजन्तु गैंडा, बाघ, मृग, बंदेल लगायत विभिन्न चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस