अमेरीकामा नेपाली पत्रकारको अधिवेशन

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १५ : ५०
अमेरीकामा नेपाली पत्रकारको अधिवेशन

अमेरीका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छैठौँ अधिवेशन शनिवार साँझदेखि अमेरिकाको पश्चिमी शहर सियाटलमा सुरु भई आइतबार सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्यबाट आएका नेपाली मूलका पत्रकारहरुको उपस्थितीबीच नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले छैठौँ अधिवेशन तथा १२ औँ साधारण सभाको उद्घाटन गरेका हुन् ।

नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा भएको साधारण सभामा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील साह, वाणिज्यदूत एसी शेर्पा, क्यालिफोर्नियास्थित महावाणिज्यदूत ऋषि पुनाखर ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभा उद्घाटन कार्यक्रममा कन्भेनर तथा नेजा कार्यसमितका सदस्य ध्रुव कुँवरले सियाटलमा साधारण सभा गर्न जिम्मेवारी प्रदान गरेयता भएका कार्यहरुका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले नेजा जस्तो संस्थाले सियाटल जस्तो नेपालीहरुको पातलो उपस्थिती रहेका ठाउँमा साधारण सभा आयोजना गरेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा नेजाका संस्थापक तथा सल्लाहकार तारा बरालले समय दिन सक्ने र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउन आग्रह गरे ।
अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजामा एकसय १५ सदस्य आवद्ध छन् ।

नेजा ग्रमिण पत्रकारिता पुरस्कार राईलाई
नेजाले स्थापना गरेको ग्रामीण पत्रकारिता पुरस्कार यस पटक कुम्भ राईलाई प्रदान गर्ने निर्णय भएको छ ।
दुईलाख २२ हजार २ सय २२ रुपैयाँ राशीको सो पुरस्कार ओखलढुंगाका राईलाई दिने निर्णय भएको नेजाका पूर्व अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक आङछिरिङ शेर्पाले घोषणा गरेका छन् । गर्त वर्षसम्ममा एकलाख ११ हजार एकसय ११ रुपैयाँ राशी रहेको पुरस्कारमा यसपटक दोब्बर बनाइएको हो ।

यसैबीच नेजाले यस वर्षदेखि सुरु गरेको प्रसिडेन्ट अवार्ड पूर्व अध्यक्ष आङछिरिङ शेर्पालाई प्रदान गरिएको छ । पत्रकार महासंघका अध्यक्ष आचार्यले पुरस्कार शेर्पालाई हस्तान्तरण गरेका छन् । त्यस्तै यसै वर्षबाट सूरु गरिएको लाइफटाइम अचिभमेन्ट अवार्ड नेजाद्वारा प्रकाशित हुँदै आएको प्रयास स्मारिकाका सम्पादक लेखनाथ भण्डारी र नेजाको स्थापनाकालदेखि नै सकृय टेक्ससका सुरेशचन्द्र पोखरेललाई प्रदान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस