बानेश्वरमा डा. केसी समर्थक र प्रहरीबीच झडप हुँदा जे देखियो (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०७५, १६ : ३३
बानेश्वरमा डा. केसी समर्थक र प्रहरीबीच झडप हुँदा जे देखियो (फोटोफिचर)

काठमाडौं  । चिकित्सा शिक्षाको सुधारको माग राख्दै अनशन बसनेका डा. गोविन्द केसीको समर्थनमा  प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा दोहोरो झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित एक दर्जन बढी प्रहरी र तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो ।

तरुण दलभन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशिल साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरुले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुशमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति श्रृजना भएको हो । नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए ।

डा. केसीका माग पूरा नभए आगो बल्छ : सुशीला कार्की
पूर्व प्रधान न्यायधीश सुशीला कार्कीले डा गोविन्द केसीका माग पूरा नभए देशमा आगो बल्ने बताएकी छन् । डा केसीको समर्थनमा सुरु भएको आन्दोलन राजनीतिक नभएर सामाजिक आन्दोलन भएको भन्दै उनले भनिन्, “यसलाई राजनीतिक आन्दोलन नभनियोस् भनियो भने फरक पर्छ । डा गोविन्द केसीका माग पूरा नभए देशमा आगो बल्छ ।”
बानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले पार्टीको घोषणा पत्रमा जनतालाई स्वास्थ्य र शिक्षाको अधिकार सुलभ बनाउनेभन्दै भोट मागेको राजनीतिक दलले अहिले सरकारमा पुगेपछि त्यसलाई बुझ पचाएको टिप्पणी गरिन् । डा. केसी र उनीजस्ता समाजसेवी कुनै दलका कार्यकर्ता नभएको स्पष्ट पार्दै उनले डा. केसीले जनताको आवाज उठाएको सबैले थाहा पाएको बताइन् ।
“डा. केसीले मरेर जाँदा यो नेपालबाट केही पनि लाँदैनन् उनले त अमरत्व प्राप्त गरिसकेका छन् । त्यसैले म यो सरकारसँग अनुरोध गर्छु । उहाँका माग पूरा गर्नुपर्छ । गर्नेपर्छ,” कार्कीले भनिन्, “समाजबाद के हो भनेर म पढाउन आएका हुँइन । चारवटा ठेकेदारदारलाई पोसेर समाजबाट हुन्छ ?” 

 

 

प्रतिक्रिया दिनुहोस