ठूला पार्टीप्रति जनताको चासो देखिएन : सभापति देउवा

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १३ : ३२
ठूला पार्टीप्रति जनताको चासो देखिएन : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।

सोमवार संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यति चासो नदेखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता औंल्याएको पार्टीका सांसद रामहरि खतिवडाले बताए । उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको जानकारी दिए ।

खतिवडाका अनुसार अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने देउवाको भनाइ थियो । बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए ।

‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ ? भन्नेकुराको बारेमा छलफल गरेको छ,’ खतिवडाले भने, ‘पार्टी सभापतिज्युले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ? उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ । बिपी काईरालाले छोटो समय देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याउनुभयो । अरु बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् कि भन्ने चिन्ताको विषय धेरै सांसदहरुले उठाउनुभएको छ ।’

जनताको विकास निर्माणका अपेक्षा धेरै रहेको र तिनलाई कसरी सम्बोधन गरेर जाने भन्नेबारे पनि बैठकमा छलफल भएको उनको भनाइ छ । ‘आज धेरै मान्य सदस्यहरुले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो । प्रत्येक निर्वाचन क्षेत्रमा देखिने योजनाहरु, कार्यक्रम आओस्, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रेको व्यवस्था होस्, शहरीकरण, खानेपानी र स्वास्थ्यको व्यवस्था होस्,’ खतिवडाले भने ।

सांसद खतिवडाले सांसदहरुले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले खेख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस