तुइन विस्थापनका लागि गायिका आनीले दिइन् एक करोड

विहीबार, ०३ साउन २०७५, १८ : ४१
तुइन विस्थापनका लागि गायिका आनीले दिइन् एक करोड

काठमाडौं । देशका विभिन्न भागमा संचालनमा रहेका तुइन विस्थापनका लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले बिहीबार सरकारलाई एक करोड रुपैयाँ सहयोग प्रदान गरेकी छिन् ।

बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा यो रकम प्रदान गरेकी हुन् । गायिका आनीले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना समेत दिएकी छिन् । गायिका आनीले पहाडी वस्तीहरुमा तुइनबाट कष्ठकर यात्रा गरेको देखेपछि आफूले तुइन बिस्थापनका लागि रकम जम्मा गर्न थालेको बताइन् ।

गायिका आनीबाट सहयोग रकम लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछिको सरकारले तुइन बिस्थापनका लागि बजेट नै काटिदिएका कारण दुई वर्षमा बिस्थापन गर्ने आफ्नो लक्ष्य पूरा हुन नसकेको बताए । उनले तुइन हटाएरै छाडिने भन्दै आफ्नो एक महिनाको तलब पनि सोही कोषमा प्रदान गर्ने घोषणा गरे । सरकारलाई निजी तवरमा तुइन विस्थापनका लागि सहयोग र दबाब दुबै पुगेकोले अब छिट्टै तुइन विस्थापन हुने आशा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस