काठमाडौं । नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।
सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामाग्री केन्द्रमा अनुगमन गरेको छ ।अनुगमनपश्चात जनक शिक्षा सामाग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताए । उनले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरे।
उनले जनक शिक्षा सामाग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्री वितरण गरिहेको जानकारी दिए । उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताए ।
उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताए । प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गरे । उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताए ।
उनले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गरे। उनले दुर्गम हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको बताए । उहाँले पुस्तक छपाई गर्ने मेसिन, जनशक्ति, बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुर्याउन सफल भएको बताए ।
उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्याएकाले सहज भएको बताए। उहाँले कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्याउन सकिएको बताए।
उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताए । उनले पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताए । उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताए ।
केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री
जुम्लामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
जनक शिक्षा प्रादेशिक कार्यालय चितवनमा पाठ्यपुस्तक पर्याप्त
शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए पाठ्यपुस्तक
जनकपुरका विद्यालयमा पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय