काठमाडौँ । सरकारले रु१ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । विभिन्न ५ वटा जलविद्युत परियोजनाको लागि सो लगानी स्वीकृत भएको हो ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको लगानी बोर्डको ५३औं बैठकले रु१ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र रु२१ अर्ब ३७ करोड स्वदेशी गरी कूल रु१ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको प्रवक्ता अमृत लम्सालले जानकारी दिए ।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि रु। ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ।
त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी १ जलविद्युत परियोजनाको रु ३३.१९ अर्ब, ७० मेगावाटको दुधकोसी २ जलविद्युत परियोजनाको रु २०.३५ अर्ब, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको रु १३.४४ अर्ब र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि रु ७.९३ अर्ब लगानी स्वीकृत गरेको लम्सालले बताए ।
बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत