चितवन–२ मा कांग्रेसले १ बजे मनोनयन दर्ता गर्दै

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, ०७ : ४९
चितवन–२ मा कांग्रेसले १ बजे मनोनयन दर्ता गर्दै

काठमाडौ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ। चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज राजनीतिक दलहरूले आ–आफ्नो उम्मेदवारको मनोनय दर्ता गर्न लागेका हुन्। 

नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउँदैछ। उनको उम्मेदवारी दर्ता गराउनका लागि महामन्त्री विश्वप्रकाश शर्मा चितवन जाने कार्यक्रम छ। 

चितवन सभापति राजेश्वर खनालका अनुसार दिउँसो १ बजे मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। श्रेष्ठको उम्मेदवारी दर्ताका लागि सहमहामन्त्री डिना उपाध्याय पनि चितवन जाँदैछिन्।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए। 

तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो। 

प्रतिक्रिया दिनुहोस