ओलम्पिक छनोटका लागि राष्ट्रिय महिला फुटबल टिमको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १५ : १४
ओलम्पिक छनोटका लागि राष्ट्रिय महिला फुटबल टिमको घोषणा

काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेको २२ सदस्यीय टोलीमा डिफेण्डर सृजना चेम्जोङ नयाँ अनुहारका रुपमा छिन् ।

यस्तै पुजा रानाले टिममा पुनरागमन गरेकी छिन् । गत महिना भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने टिममा पुजा थिइनन् । भारत भ्रमणका क्रममा चोट लागेकी डिफेण्डर गीता राना हाल शल्यक्रियापछि आराममा छिन् भने भारतसँग खेलेकी यू-२० टिमकी कप्तान प्रिती राई पनि टिममा परिनन् ।

अर्की डिफेण्डर धिमकुमारी गुरुङले भने भारतसँगको खेलपछि सन्यास घोषणा गरेकी थिइन् । प्रशिक्षक थापाले गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षक थापाले ओलम्पिकको रेगुलेसन अनुसार २२ जना मात्र खेलाडी राख्न मिल्ने बताए ।

यस्तै प्रिति राई प्रशिक्षणका क्रममा घाइते भएकाले टिममा नराखिएको उनले बताए । ‘हामीले प्रशिक्षण मा राम्रो गर्ने हेरेर उत्कृष्ट टिम छानेका छौं । यो उपलब्ध भएका मध्ये बेस्ट टिम हो’, थापाले भने ।

डिफेण्डर गीता नहुँदा उनको स्थानमा पुजा रानालाई राखेको उनले स्पष्ट पारे । ‘गीता नहुनु हामीलाई घाटा नै हो, पुजाले पुनरागमन गरेकी छिन् । उनले प्रशिक्षणमा राम्रो गरेकी छिन् । नयाँ डिफेण्डर सृजना पनि टिममा छिन् । ब्याकअपको रुपमा सृजनालाई राखिएको हो ।’

एसियाली पहिलो चरणको छनोटमा समूह सी मा रहेको नेपालले भियतनामासँग घरेलु मैदानमा दुई खेल खेल्नेछ । नेपाल र भियतनामबीच यही चैत २२ र २५ गते दशरथ रंगशालमा खेल हुनेछ । यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि दुई टिमबीच दुई लेगको खेल हुने भएको हो ।

नेपाली टिम

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर : समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, विमला विक, निशा थोकर, पुजा राना, सृजना चेम्जोङ मिडफिल्डर : रेनुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सावित्रा राना मगर, अनिता केसी, अनिता बस्नेत

फरवार्ड : अमिसा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, निर्मला विक

प्रतिक्रिया दिनुहोस