आज चैते दशैं मनाइँदै, शक्तिपीठहरुमा दर्शनार्थी तथा पूजा गर्नेहरुको भीड

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, ०७ : ४५
आज चैते दशैं मनाइँदै, शक्तिपीठहरुमा दर्शनार्थी तथा पूजा गर्नेहरुको भीड

काठमाडौं । आज बुधबार चैते दशैं । हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी यो पर्व मनाउँदैछन् ।

हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई ‘बडादशैं’को रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई ‘चैते दशैं’ भनिन्छ ।

देशका विभिन्न शक्तिपीठहरुमा बुधबार बिहानैदेखि पूजा गर्नेहरुको भीड लागेको छ । दशैंघर तथा कोतहरुमा महाकालीको पूजा गर्ने गरिन्छ । चैते दशैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी, बागलुङको कालिका मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

असोजको बडादशैंको जस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन् ।

प्रतिक्रिया दिनुहोस