काठमाडौ । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’अन्तर्गतको शनिबारको खेलमा नेपाल पुलिस क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
पुलिस क्लबले विदेशी टोली दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गरेको हो ।
पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौँ मिनेटमा अग्रता लिएको थियो । पुलिसका भोला सिलवालले ४२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेलान्टी सुटआउटमा गरिएको हो । पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदीको पेनाल्टी सफल भयो । विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो ।
पुलिसले अब सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्नेछ । आइतबार क्वाटरफाइनलको खेलको प्रतिस्पर्धा फ्रेन्डस् क्लब र थ्रीस्टारबीच हुनेछ ।
यही चैत १८ सम्म हुने प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोट्स क्लबसहित १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका सबै प्रतिस्पर्धामा ‘म्यान आफ दि म्याच’ घोषित खेलाडीलाई
रु १० हजारका दरले पुरस्कार दिइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०७ : ३६
लेखकबाट थप