भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपालमा

रासस

सोमबार, ०३ पुस २०७४, १९ : २३
भाले गोही खोज्न निकुञ्जको टोली पश्चिम नेपालमा

 

 

चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जका टोलीले भाले गोहीको खोजीमा पश्चिम नेपाल पुगेको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार भोलि बिहानबाट कर्णाली र बबई नदीमा गोही खोजी कार्य शुरु गरिँदैछ । भारतीय सीमा क्षेत्रबाट गोही ल्याउनुपर्ने भएकाले भारतीय अधिकारीसँग पनि छलफल गरिँदैछ । यसअघि नै उनीहरुलाई यस विषयमा जानकारी गराइएको कँडेलले बताउनुभयो ।

झण्डै डेढ दशकयतादेखि कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का, प्रजनन केन्द्रमा सहयोगीका रुपमा काम गर्दै आएका अन्य तीन कर्मचारीसहित प्रमुख संरक्षण अधिकृत कँडेल बर्दिया पुग्नुभएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा गोही खोज्ने काम हुनेछ । कसराको प्रजनन केन्द्रमा एउटा मात्रै भाले गोही रहेको, राप्ती र नारायणी नदीमा एउटा पनि भाले गोही नभएपछि निकुञ्ज ६ महिनायता भाले गोहीको खोजीमा रहेको थियो ।

गत वर्ष प्रजनन केन्द्रमा रहेको अर्को एक भाले गोही र राप्तीमा रहेको एक मात्रै भाले गोही मरेपछि दुर्लभ गोहीको प्रजनन संकटमा परेको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालका लागि पनि एउटा मात्र भाले रहेको सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले जानकारी दिनुभयो । बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान गरिएको छ ।

कर्णालीमा के कति भाले छन् भन्ने यकिन हुन सकेको छैन । हालसम्म कसरा प्रजनन केन्द्रमा हुर्काएर ती दुई नदीमा एक सयभन्दा बढी गोही छाडिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस