-प्रकाश भुसाल
तिमीले डुब्न बाँकी छ
आफूभित्रको महासागरमा
जहाँ सदियौँदेखि बर्मुडा त्रिकोणहरू बेखबर छन्
खोज्नु छ डुबेका कैयौँ जहाजहरू
र जहाजसँगै डुबेका अनेकौ विपनाहरू
जसको भड्किएको आत्मा
हरेकरात सपनामा तर्साइरहन्थ्यो
तिमीले खोतल्न बाँकी छ
आफूभित्रको ब्रह्माण्ड
जहाँ सदियौँदेखि
काला छिद्रहरू अदृश्य छन्
भेट्टाउनु छ ज्योतिषिले चिनामा नभेटेका ग्रहहरू
अनि थन्क्याउनु छ राहु केतु र उल्कालाई
जसलाइ खोजी खोजी तिम्रै हस्तरेखामा देखाएर
ज्योतिषि आफ्नो व्यवसाय चलाउँथ्यो
तिमीले पढ्न बाँकी छ
नपढी पल्टाएका अतितका पानाहरू
जहाँ तिमी जन्मिनुभन्दा पहिल्यै जन्मिएका सपनाहरू
मुक्ति नपाएको आत्मा जसरी भड्किरहेका हुनेछन्
अब तिमीले खोज्न बाँकी छ कोहिनूर
जसलाई धेरै पहिले पत्थरको खोजीमा निस्किँदा छाडेका थियौँ
प्रभातका किरणहरू पर्खिरहेछन्
जसरी आमाले पाँच रुपैयाँ थमाइदिएको रात
मध्यरातमा उठेर तिमी प्रभातलाई पर्खन्थ्यौ
तिम्रा आँखाको भाषा बुझ्ने आखाहरू
तिमीले पहिलो पटक उभिँदा समातेका औँलाहरू
तिमीलाइ ठूलो मान्छे बन्छु भन्न सिकाएका काँधहरू
तिमीलाई नै पर्खिरहेछ्न...
के तिमी पर्खाइरहन्छौ ?
पहिलो पटक तिमीलाई स्पर्श गरेका हातहरू
जुन तिम्रो मायाको त्यान्द्रोले जीवितै छन्
के त्यही तान्द्रोलाई दुई मिटरको प्लास्टिको डोरीसँग साट्छौ ?
यावत प्रश्न सोधेको थियो
मनले मलाई डोरी बाँध्नु अघि
म मर्न सकिन...
(अर्घाखाँची)
प्रतिक्रिया दिनुहोस