कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताए ।आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताए । “खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ”, मुख्यमन्त्री रावलले भन्नुभयो, “राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।” उनले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताए ।
स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन् । आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विजेता टोलीले रु एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ । ‘सिरिज अफ दी टिम’ले रु पाँच हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोशीले बताए । प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्स म्यान’ र ‘बलर’लाई रु तीन हजार पाँच सयसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १६ : २२
लेखकबाट थप