काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन। उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गरेका हुन ।
त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरे। विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए ।
नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतिपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गरे । उनले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पारे ।
उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, १६ : २९
लेखकबाट थप