नेविसंघ र तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, १३ : २०
नेविसंघ र तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी सुरु गरेको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ र तरुण दलका अध्यक्षलाई छलफलका लागि डाकेका थिए ।

देउवा निवास धुम्बाराहीमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङले पूर्ण कार्यसमितिका लागि पार्टी छलफल गरेका हुन् । सभापति देउवा र महामन्त्री थापासँग तरुण दलको केन्द्रीय समिति गठन बारेमा छलफल भएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

तरुण दलका अध्यक्ष गुरुङ अघि नेताहरुलाई भेट्न नेविसंघका अध्यक्ष शेर्पा धुम्बाराही पुगेका थिए । देउवा एक साताभित्र संघको पूर्ण कार्यसमिति ल्याउन शेर्पालाई निर्देशन दिएका छन् । तदर्थ समितिलाई पूर्णता दिने क्रममा कांग्रेसले पदाधिकारी विहिन कार्यसमिति ल्याउने तयारी गरेको छ ।

भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय केन्द्रीय समितिले दुईपटक गरिसकेको छ । गत फागुनमा १० भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गरिएको थियो ।यसबीचमा पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै देउवाले मनोनित गरेका छन् ।

नेविसंघमा शेर्पा, तरुण दलमा गुरुङ, किसान संघमा गणेश तिमिल्सिना, महिला संघमा उषा राउत र आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीमगर अध्यक्षमा मनोनित भएका छन् ।

प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, भूतपूर्व सैनिक संघ लगायतको मूल नेतृत्व समेत मनोनित गरिएको छैन ।पार्टी केन्द्रीय समितिले सबै तहको निर्वाचन सकिएको तीन महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । केन्द्रीय समिति भंग भएको १० महिना पछि दुई भ्रातृ संस्थाको पूर्णता दिने पार्टीले तयारी गरेको छ । नेविसंघ र तरुण दल पार्टीका प्रमुख भ्रातृ संस्था हुन् ।

प्रतिक्रिया दिनुहोस