विश्वभर पर्नसक्ने आर्थिकमन्दीको असरबाट नेपाललाई जोगिन चुनौती छ : गभर्नर अधिकारी

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, १२ : ५७
विश्वभर पर्नसक्ने आर्थिकमन्दीको असरबाट नेपाललाई जोगिन चुनौती छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताएका छन् । उनले विश्वभरमै पर्नसक्ने आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण हुने बताए ।

बैक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले संसार मन्दीको वातावरणमा गएको बताए ।सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको भन्दै उनले सन् २०२३ मा झनै संकुचन आउने प्रक्षेपण रहेको बताए ।

‘त्यसको बाछिटा नेपालमा पनि परेको छ । निर्माण व्यवसायमा शिथिलताले अरू विषयमा छुँदै गएको छ’ उनले भने । मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने उनको भनाइ छ । यस्तो असरलाई नेपालमा पर्न नदिनु नै यो वर्षका लागि ठूलो चुनौती हुने उनले बताए ।