मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

सफल खबर संवाददाता

शुक्रबार, १५ पुस २०७९, १६ : २३
मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस