राप्रपा नेता जबराद्वारा प्रतिनिधिसभाका सांसदहरुले सपथ लिने

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, १३ : ५५
राप्रपा नेता जबराद्वारा प्रतिनिधिसभाका सांसदहरुले सपथ लिने

काठमाडौँ । प्रतिनिधिसभाका निर्वाचित सांसदहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले सपथ ग्रहण गराउने भएका छन।संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्था अनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताए । त्यसका लागि पुस ७ गते बिहीबार अपरान्ह १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सपथग्रहण कार्यक्रम तय गरिएको छ ।

प्रवक्ता पाण्डेका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई सपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरुलाई सपथ गराउनुपर्ने हुन्छ । त्यसका लागि पुस ६ गते बुधबारको कार्यक्रम तय गरिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हामीले ऐन, कानुन र संविधानमा मा व्यवस्था भए अनुसार सपथ गरेर मात्रै संसदीय गतिविधिहरु गर्नुपर्ने भएकाले सर्वप्रथम ज्येष्ठ सदस्यको पहिचान गरेर जेष्ठ सदस्यलाई राष्ट्रपतिज्यूसँग सपथग्रहण गराउने कार्यक्रम छ । त्यो चाँही भोली पुस ६ गते राष्ट्रपति कार्यालयमा सो कार्यक्रम तय गरिएको छ । त्यसपछि ७ गते पर्सी सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई हामी सूचना गरिसकेका छौं । १ बजे बानेश्वरको संसद हलमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

अव जहाँसम्म ज्येष्ठ सदस्यको सन्दर्भमा चाँही जुन हाम्रो कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भए अनुसार उपस्थिति सांसदहरु मध्ये ज्येष्ठ सदस्यले सपथग्रहण गराउने भन्ने भएकाले र हामीले उपलब्ध भएकाहरुको प्रमाणको आधारमा चाँही राप्रपाका नेता हुनुहुन्छ माननीय पशुपति शमशेर जबरा । उहाँमार्फत् उहाँहरुलाई सपथग्रहण गराउने कार्यक्रम अगाडि बढाईसकेका छौं । तय गरिसकेका छौं । उहाँको उमेर चाँही जन्म मिति १९९८ मंसीर २४ गतेको छ । त्यो डेट चाँही हामीले नागरिकताको आधारमा पहिचान गरेका हौं । त्यो हिसावले उहाँ ज्येष्ठ सदस्य देखिनु भएको छ । उहाँबाहेक विगतमा नागरिकताको प्रमाणको आधारमा हेर्दाखेरी मतदाताको विवरण हेर्दाखेरी माननीय महिन्द्रराय यादवको रहेको तर उहाँ अघिल्लो पटक पनि सपथग्रहण गराउने बेलामा उपस्थित नहुनु भएकाले उहाँ उपस्थित हुने अवस्था नदेखिँदाखेरी अहिले चाँही माननीय पशुपति शेमशेर जबराले सपथ गराउने गरी हामीले कार्यक्रम तय गरेका छौं ।’

नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष हुनु भएका जबराको विक्रम संवत १९९८ मंसीर २४ गते जन्म भएको थियो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुग्नु भएपनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित हुनु भएको थियो । उहाँले अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ ।

संसद सचिवालयले मातृभाषामा सपथ लिने व्यवस्था पनि गरेको छ । मातृ भाषामा सपथ लिन चाहने सांसदहरुलाई सपथ ग्रहणको ढाँचा विवरण अनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ । सपथ ग्रहण गराउनु ३ दिन अघि नै सो उल्था गरिएको सपथग्रहणको कपी संसद सचिवालयमा सांसदहरुले पेश गर्नुपर्ने हुन्छ । प्रवक्ता पाण्डेले अहिले मातृभाषामा सपथ लिन चाहनु हुने सांसदहरुको विवरण संकलनको काम भईरहेको बताए ।

उनले भने ‘आफ्नो आफ्नो मातृभाषामा सपथ ग्रहण गर्नका लागि चाँही उहाँहरुलाई हामीले सपथग्रहणको ढाँचा विवरण उपलब्ध गराउँछौं । हामीले नेपाली भाषामा उपलब्ध गराएका हुन्छ । तर, उहाँहरुले सपथग्रहण हुनु भन्दा ३ दिन अगावै त्यो भाषामा ट्रान्सलेट गरेर अथवा त्यसलाई उल्था गरेर आफ्नो मातृभाषामा सपथग्रहण गर्नका लागि हामीलाई जानकारी दिनुपर्ने हुन्छ । अहिले हामी त्यो जानकारी पनि संकलन गरिरहेका छौं । उहाँहरुले त्यो व्यवस्था गर्नु भयो भने हामी त्यसलाई सपथग्रहण कार्यक्रममा समावेश गरेर अघि बढाउँछौं ।’

गत मंसीर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरु निर्वाचित भएका छन । उनिहरुलाई सपथ ग्रहण गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस