काठमाडौं । बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतार विश्कवप २०२२ मा विजयी सुरुआत गर्ने क्रममा सोमबार एसियाली प्रतिद्धन्द्धी इरानमाथि ६-१ को रवाफ जमाएको छ ।
पहिलो हाफको ११ मिनेटको बीचमा तीन गोल गर्दै इङ्ल्यान्डले समूह ‘बी’को खेलको पहिलो हाफमै ३-० को अग्रता लिइसकेको थियो ।
गारेथ साउथगेटको टोलीलाई दोहामा सहज जित दिलाउन साकाले दुई गोल गर्दा ज्युड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थिए । कप्तान ह्यारी केन आफैले गोल गर्न नसके पनि उनले स्टर्लिङ र रसफोर्डको गोलमा अवसर सिर्जना गरेका थिए ।
दोहाको अल बायात रंगशालामा बोरुसिया डर्टमन्डका फरवार्ड बेलिङ्घमको गोलबाट इङ्ल्यान्डले ३५औं मिनेटमा अग्रता लिएको थियो । म्यानचेस्टर युनाइटेडका रक्षक ल्युक शाको उत्कृष्ट क्रसलाई कसैको निगरानीमा नरहेका बेलिङ्घमले सहज हेड गोलमा परिणत गर्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए ।
मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा ह्यारी म्यागुयरले ब्याक हेडबाट दिएको पासलाई देब्रे खुट्टाले कडा भलीमार्फत आर्सनलका फरवार्ड साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २१ वर्षे साकाले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको चौथो गोल गरेका थिए । साकाले एकल प्रयासमा गोल गर्ने क्रममा दुई विपक्षी खेलाडीलाई कटाएपछि पेनाल्टी बक्स भित्र चार रक्षकको बीचबाट प्रहार गरेको बल पोस्टभित्र छिरेको थियो ।
पछिल्लो समय क्लबमा फर्म हासिल गर्न संघर्षरत स्टर्लिङले इन्जुरी समयमा गोल गर्दै स्कोरिङ फर्म फर्किएको संकेत गरे । उनले कप्तान ह्यारी केनको पासमा पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । यसै सिजनमात्र इङ्लिस प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीबाट चेल्सी सरुवा भएका स्टर्लिङ स्वभाविक स्कोरिङ फर्मका लागि संघर्षरत थिए ।
साकालाई स्थानान्तरण गर्दै मैदान छिरेको एक मिनेट नबित्दै ७१औं मिनेटमा रसफोर्डले इङ्ल्यान्डको पाँचौं गोल गरे । कप्तान ह्यारी केनको पासलाई अगाडि बढाउँदै एक विपक्षी रक्षकलाई कटाउँदै रसफोर्डले प्रहार गरेको बल इरानी गोलकिपर बेरान्भार्डलाई बिट गरेर जालीको सम्पर्कमा पुग्दा उनी मैदान छिरेको २६ सेकेन्ड मात्र भएको थियो ।
७१औं मिनेटमा स्टर्लिङलाई स्थानान्तरण गर्दै मैदान छिरेका ग्रिलिसले अर्का वैकल्पिक खेलाडी कोलम विल्सनको पासलाई अन्तिम मिनेटमा गोलमा परिणत गरे । विल्सन कप्तान केनलाई स्थानान्तरण गर्दै ७५औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
इरानका मेहदी तारेमीले दुई गोल फर्काए । ६५औं मिनेटमा पहिलो गोल फर्काएका उनले इन्जुरी समयमा भिएआरबाट प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गरे । तर थप गोल हुन नसक्दा अली घोलिजादेहको पासमा उनले गरेको गोल इरानी समर्थकलाई सान्त्वनामा परिणत भयो ।
विपक्षी खेलाडी किरन ट्रिपियरसँग जुध्दा घाइते भएर इरानका पहिलो रोजाईका गोलकिपर सइद होसेन होसेइनीले २०औं मिनेटमा मैदान छोड्नु परेको थियो । नाकमा चोट लागेपछि मैदानमै धेरैबेर उपचार गरेपछि उनलाई स्ट्रेचारमा राखेर मैदानबाट बाहिर निकाल्नुपरेको थियो । उनको ठाउँमा अलिरेजा बेरान्भार्डले इरानको पोस्ट सम्हालिरहेका छन् ।
जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, २१ : १४
लेखकबाट थप