पत्रकारहरुको पाक्षिक पाठशाला प्रारम्भ

शुक्रबार, ०८ असार २०७५, १७ : २०
पत्रकारहरुको पाक्षिक पाठशाला प्रारम्भ

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज शुक्रबारदेखि पत्रकारहरुको लागि पाक्षिक पाठशाला सुरु गरेको छ । जिम्मेवार र मर्यादित पत्रकारिताको लागि शिक्षा र समीक्षा भन्ने नारासहित नियमित पाठशाला सुरु गरिएको हो ।
पाक्षिक पाठशालाको उद्घाटन नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले गर्नुभएको थियो । उहाँले पत्रकारहरुलाई मर्यादित र जिम्मेवार बनाउने काम स्वयं पत्रकारहरुले नै गर्नुपर्ने बताउँदै यो काम सुरु गरेकोमा प्रशंसा गर्नुभयो । राज्यले पत्रकारहरुलाई मर्यादित र जिम्मेवार बनाउँछु भन्दा प्रेसमाथि अंकुश लाग्ने खतरा रहने उहाँको भनाइ थियो ।
नियमित पाठशाला उद्घाटन समारोहमा बोल्दै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जीवनमा सिकाई मृत्युपर्यन्त रहन्छ भन्ने शाश्वत सत्यलाई पत्रकार महासंघ चितवन शाखाले आत्मसात गरी पाठशाला सुरु गरेकोमा बधाई दिँदै निरन्तरताको कामना गर्नुभयो । कार्यक्रममा महासङ्घकाे प्रदेश समिति सदस्यहरु इश्वर जोशी, मदन सेञ्चुरी, काेमलचन्द्र भगत, प्रबिन बराल र रामकान्त पाैडेललाई बधाई ज्ञापन गरिएको थियो ।
पाठशाला संयोजक एवं महासंघको शाखा सल्लाहकार सूर्यप्रकाश कँडेलले पत्रकारहरुले अध्ययन र अभ्यासमा जोड दिनुपर्ने बताउँदै पाठशालालाई पत्रकारको क्षमता अभिवृद्धि गर्ने काममा उपयोग गरिने बताउनु भयो । महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्षहरु नारायणप्रसाद अधिकारीले स्वागत मन्तव्य र शान्ता अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । पाठशालाको पहिलो श्रृंखलामा १३ जना पत्रकार सहभागी थिए । उनीहरुबीच संयोजक कँडेलले भाषा सम्बन्धी प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस