पोष्टबहादुर बोगटी पत्नी राममायाले दिइन् बागी उम्मेदवारी

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, १६ : ०६
पोष्टबहादुर बोगटी पत्नी राममायाले दिइन् बागी उम्मेदवारी

विदुर । माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटी पत्नी राममायाले बागी उम्मेदवारी दिएकी छन् । आफूले पाएको टिकट खोसिएपछि उनले बागी दिएकी हुन् । माओवादी केन्द्रले सुरुमा बोगटीलाई नुवाकोट–२ को (ख) मा टिकट दिएको थियो । तर, उम्मेदवारी मनोनयन दर्ताको केही घण्टाअघि मात्र टिकट खोसिएपछि उनले बागी दिएकी हुन् । 

सत्ता गठबन्नबीचको भागबण्डामा प्रतिनिधिसभा क्षेत्र नम्बर–२  (क) नेकपा एकीकृत समाजवादी र (ख) माओवादी केन्द्रको भागमा परेको थियो । तर, अन्तिम समयमा काँग्रेस र माओवादीले अघिल्लो निर्णय उल्ट्याउँदै प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका थिए । प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा काँग्रेस तथा प्रदेशसभाको (क) मा समाजवादी र (ख) मा माओवादी केन्द्रले लिने सहमति शीर्ष नेतृत्व र सिट बाँडफाँट कार्यदलमा भएको थियो । प्रतिनिधिसभामा काँग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् । 

प्रदेश (क) मा समाजवादीबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनी र (ख) मा माओवादीबाट बोगटीले लगिसकेको टिकट अन्तिम अवस्थामा खोसिएको थियो । समाजवादीको भागमा परेकोे प्रदेश (क) मा माओवादीबाट पञ्चायतकालीन उपसभापति रामप्रसाद ढुंगाना र  माओवादीले पाउने भनिएको प्रदेश (ख) मा काँग्रेसका निवर्तमान सांसद बहादुरसिंह लामा तामाङले उम्मेदवारी दिएका छन् । बोगटीले आफूले पहिला टिकट पाएको भन्दै उम्मदेवारी फिर्ता नलिने अडान राखेकी छन् । यस्तै प्रदेश (क) मा उम्मेदवारी दर्ता गराएका लोहनीले माओवादीबाट उम्मेदवारी दिएका ढुंगानाको उम्मेदवारी कायमै रहे गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस