प्रधानमन्त्री ओलीले भोलिबाट हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराउने

सोमबार, ०४ असार २०७५, ११ : ५६
प्रधानमन्त्री ओलीले  भोलिबाट हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै छन् । सोमबार ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन आफ्नो चीन भ्रमणबारे जानकारी दिन लागेका हुन् ।

आजको संसद बैठकमा प्रम ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदलाई जानकारी दिन लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार चीनको ४ दिने औपचारिक भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा यसअघि भएका सम्झौता कार्यन्वयनमा जोड दिने तयारी भएको छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गरेका थिए भने त्यसअघि परराष्ट्रविद तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँग पनि छलफल गरेका थिए । यसअघि गत विहीबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको थियो ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली छिमेकी मुलक चीन भ्रमणमा जान लागेका हुन् । गत फागुन ३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीको चीन भ्रमणलाई नेपालको विकास र सम्बृद्धिसँग पनि जोडेर हेरिएको छ । यद्यपी परराष्ट्र मन्त्रालयले भ्रमण परम्परागत र मैत्रीपुर्ण सम्बन्धलाई मजबुत बनाउँदै परिवर्तित सन्दर्भमा दुई देशबीचको सम्बन्धलाई अझ माथि उठाउन केन्द्रीत हुने बताएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा तान्स हिमालय कनेक्टीभिटिलाई मुर्त रुप दिन केही महत्वपुर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

त्यसमध्ये बर्षा याममा अवरुद्ध हुदै आएका नेपाल–चीन नाका सञ्चालन गर्ने विषयमा सहमति गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वर्षाको समयमा ति नाका अवरुद्ध हुँदा सामान ढुवानी गर्न समस्या हुँदै आएको छ । त्यस्तै नेपाल चीन जोड्ने महत्वपुर्ण नाका तातोपानी नाका समेत आगामी मे महिनाबाट खुलाउने विषयमा नेपाल र चीनबीच छलफल हुनेछ ।

नेपाल र चीन जोडिएका हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर बझाङको उराइपास लगायतका नाका बर्षाको समयमा अवरद्ध हुँदा ति नाकाबाट खाद्यन्न लगायतका सामान ढुवानीमा समस्या हुँदै आएको छ ।

त्यस्तै रसुवामा बन्न लागेका दुईवटा पुलबारे दुई देशबीच सम्झौता गर्ने तयारीका साथै हाइड्रोपावर सम्बन्धी सम्झौता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस