पहिरोमा पुरिएका चार जनाको ३९ घण्टापछि उद्धार

आइतबार, ०३ असार २०७५, १६ : ३२
पहिरोमा पुरिएका चार जनाको ३९ घण्टापछि उद्धार

संखुवासभा । अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्ड बस्ने ५५ वर्षीय डोजर अप्रेटर बुधन मुण्डा र बिहार बस्ने ४५ वर्षीय इलेक्ट्रोनिक इञ्जिनीयर नन्दकिशोरको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारु मगरले बताउनुभयो ।

उद्धारका लागि घटनास्थलमा ६ स्काभेटर र डोजर प्रयोग गरिएको थियो । पहिरो करीब ६० मिटर माथिबाट खसेको थियो । उनीहरुको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।  (रासस)

(शनिबार सरकारी सञ्चारमाध्यम राससले प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरलाई उदृत गर्दै  उनीहरुको मृत्यु भएको समाचार सम्प्रेषण गरेको थियो । सोहि समाचार सफल खबरबाट पनि सम्प्रेषण भएकोमा क्षमायाचनासहित सच्चाइएको छ–सम्पादक)

प्रतिक्रिया दिनुहोस