सभामुखबाट मन्त्रीको ध्यानाकर्षण

आइतबार, ०३ असार २०७५, १६ : २६
सभामुखबाट मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आज मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आज संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, शहरी विकासमन्त्री मोहमदस्तिका राई र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्थेन ।

आजको बैठकमा सांसद अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको उपस्थित नभएकाले बैठकको कुनै औचित्यता नहुने भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले १५ मिनेटका लागि संसद् बैठक स्थगन गर्नुभएको थियो ।(रासस)

प्रतिक्रिया दिनुहोस