न्युयोर्कको म्यानहटनमा गोली प्रहार, दुई जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ भदौ २०७९, १२ : ५४
न्युयोर्कको म्यानहटनमा गोली प्रहार, दुई जनाको मृत्यु

काठमाडौं । अमेरिकाकाे न्युयोर्कस्थित म्यानहटनमा भएका छुट्टाछुट्टै गोली प्रहारका घटनामा २५ वर्षकी महिला र २६ वर्षका पुरुषको मृत्यु भएको छ । एकजनाको घटनास्थलमा नै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पहिलो घटनामा २५ वर्षीया महिलालाई मास्क लगाएको अश्वेत बन्दुकधारीले गोली हानेको थियो । उनी युनियन स्क्वायर नजिक इस्ट १४ स्ट्रीटमा हिँड्दै गरेको बेला गोली हानिएको थियो । उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

न्युयोर्क युनिभर्सिटी नजिकै गोली चलाइएको थियो । तर, मृतकको युनिभर्सिटीसँग सम्बन्ध भए नभएको स्पष्ट छैन । हत्यारा घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ ।त्यसको केही घण्टापछि अर्को गोली काण्ड केही ब्लक टाढा इस्ट १२ औं स्ट्रीटमा एभिन्यु सी र डी बीचमा भएको थियो । उक्त घटना एउटा विद्यालयबाहिर भएको थियो ।गोली चलेपछि नजिकैका मानिसबीच भागदौड मच्चिएको थियो । विद्यालयको नजिक गोली चलेपनि विद्यालय अर्को साताबाट खुल्ने भएकाले त्यहाँ कुनै बालबालिका वा कर्मचारी भने थिएनन् ।

२६ वर्षीय पुरुषको टाउकोमा गोली लागेको र उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएकोमा उनको अस्पतालमा निधन भएको थियो । अनुसन्धान जारी रहेको र गोलीकाण्ड लक्षित रहेको देखिएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन सकेको छैन । गोली चलाउने व्यक्ति फरार छन् ।

प्रतिक्रिया दिनुहोस