काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन् । सोमवार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरूको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन् । उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको बताए ।
त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरुको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरुको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।
सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरिन् । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेको तर अहिलेसम्म निर्वाचनमा मत दिने अधिकार नपाएको बताइन् । सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन् । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने जनताले भोट दिन नपाएको अवस्था रहेको भन्दै उद्योगमा काम गर्ने मजदुरहरुलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरिन् ।
त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवन्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे । उनले उक्त क्षेत्रमा १२ सय घरपरिवार कफी खेतीमा संग्लन भएर युरोपमा कफी निर्यात गरिरहेको बताए । सिलवालले यो वर्ष करिव ९ टन कफी निर्यात गर्ने किसानहरुले लक्ष्य राखेको पनि बताए । त्यहाँका किसान र सांसदसमेत मन्त्रालयहरूमा गएर कफी खेती प्रबन्धन गर्न आर्थिक सहयोग माग गर्दा समेत सरकारले कानमा तेल हालेर बसेको उनले आरोप लगाए ।
त्यस्तै सांसद पार्वता जिसी चौधरीले माओवादी र काँग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरे । उनले प्रधानमन्त्री देउवालाई काँग्रेस आगामी निर्वाचनमा एक्लै निर्वाचनमा जाने घोषणा गर्न सुझाव दिए । सांसद चौधरीले आगामी निर्वाचनमा काँग्रेसलाई ठूलो पार्टी बन्न कसैले रोक्न नसक्ने बताए । उनले प्रधानमन्त्री देउवालाई जीवनको अन्तिम समयमा एउटा राम्रो काम गर्न भन्दै राम्रो काम नगरे भावी पुस्ताले सराप्ने बताए ।
त्यस्तै सांसद अञ्जना बिसङ्खेले आगामी निर्वाचनमा महिलाको लागि निर्वाचन आरक्षण तोकी कानून बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरिन् । उनले आरक्षण ताकेर तत्काल विधेयक ल्याउन सभामुखको रुलिङ माग गरिन् । त्यस्तै सांसद प्रेम सुवालले त्रिभूवन विश्वविद्यालय तीन वर्षमा ३०० सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरुलाई स्पष्टीकरण सोध्नुपर्ने बताए ।
उनले युद्धको समयमा समेत विद्यालय र विश्व विद्यालयहरु सञ्चालन भएको देशहरु धेरै रहेको बताए । उनले भारतको गगनचुम्बी जुम्ल्याहा भवन बम राखेर भत्काए जस्तै काठमाडौंको ठमेलको सार्वजनिक कमल पोखरीमा निर्माण गरिएको व्यापारिक भवन छायाँ कम्प्लेस भत्काउन जरुरी रहेको बताए । सांसद सुवालले निर्वाचन घोषणा भएपछि संसद सुचारु हुने आचार संहिताको उल्लघंन भएको गुनासो भएकाले तत्काल संसद अन्त्य गर्न माग गरे । उनले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।
त्यस्तै सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भएपनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले यो भन्दा अगाडिका ६ जना शिक्षा मन्त्रीले साझा प्रकाशन केन्द्र डुबाइएको पनि बताए । उनले शिक्षा मन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ भदौ २०७९, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, नेपाल प्रहरी विधेयक छलफलका लागि प्रस्तुत गरिने
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सरकारले शहीदमार्गको रकम कटौती गरेकोप्रति वर्षमानको आपत्ति