मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं : मेयर बालेन

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १० : १४
मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन दिने छैनौं : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले मिचाहा वर्गलाई कानून मिचिरहन र अझ मोटाइरहन नदिने जनाएका छन् । आइतवार सामाजिक सञ्जाल फेसबूकमा प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले कानूनको पालना गराउने क्रममा कार्यकारिणी अधिकारको प्रयोग र प्रहरी परिचालन हुने बताए ।

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्पष्ट पार्दै उनले भनेका छन्, ‘कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ । आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउँदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेका हुन्छन् । महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ ।’

कबुलियतको उल्लंघन गरेको कार्य रोकथाम गर्नु महानगरको पहिलो दायित्व हुने उनले स्मरण गराएका छन् । ‘कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व हो । कानूनको अनुपालना गर्न ३५ दिनको सूचना दिँदा पनि अटेर गरेपछि गैरकानूनी कार्यको रोकथाम तथा नियन्त्रण गर्न महानगरीय प्रहल बलको परिचालन गर्नु पर्ने परिस्थिति आएको सर्वविदितै हो ।

स्मरण रहोस्, भूइँ तला वा बेसमेन्टमा पार्किङ गर्ने गरी भवनको नक्सा स्वीकृति लिएका व्यक्ति वा संस्थाले सोबापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेका छन् तर कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कबुलियतनामाका शर्तहरू भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस