एसी मिलानको अपराजित यात्रा कायमै

एजेन्सी

आइतबार, १२ भदौ २०७९, ०८ : ५६
एसी मिलानको अपराजित यात्रा कायमै

एजेन्सी । राफेल लियोले एक गोल गर्नुका साथै अर्कोमा अवसर सिर्जना गरिदिएपछि एसी मिलानले शनिबार राति इटालियन सिरी ‘ए’ फुटबलमा बोलोग्नालाई २–० ले पराजित गरेको छ ।

जारी सिजन अपराजित रहेको साविक विजेता मिलानले लियोको गोलबाट २१औँ मिनेटमा अग्रता लिएको थियो । ५८औँ मिनेटमा लियोको पासमा ओलिभर जिरौडले मिलानको अग्रता दोब्बर बनाएका थिए । त्यही दुई गोल मिलानको जितमा पर्याप्त बन्यो ।

मिलानले अघिल्ला दुई खेलमा पुनरागमन गर्दै नतिजा निकाल्न सफल भएको थियो । पहिलो खेलमा मिलानले युडिनेसलाई ४–२ ले हराएको थियो । दोस्रो खेलमा एटलान्टासँग १–१ को बराबरी खेलेको थियो । दुवै खेलमा मिलानले सुरुमा गोल खाएको थियो ।

१९ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल मिलान सात अंकका साथ शीर्ष स्थानमा छ । बोलोग्ना भने एक अंकका साथ १७औँ स्थानमा छ । गए राति नै सासउलो र स्पेजियाले २–२ को बराबरी खेले । युभेन्टस र एएस रोमाले १–१ को बराबरी खेले । टोरिनोले क्रेमोनेजलाई २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस