कीर्तिपुरमा पनि मापदण्डविपरीतका संरचना भत्काउन सुरु

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, २० : २७
कीर्तिपुरमा पनि मापदण्डविपरीतका संरचना भत्काउन सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरितका संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए ।

नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले बताए। महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्ड विपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले दिए।

“उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाउनुभएको रहेछ । तर हामी आइसकेपछि पनि अनुरोध गर्दा नहटाइएपछि भत्काउन बाध्य भयौँ”, उनले थपे। नियम विपरीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै माग राख्दै आएको उपप्रमुख शाक्यले बताए। यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य छिट्टै थाल्नेसमेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस