ओलीसँग राजदूतहरूद्वारा सामुहिक भेट

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १७ : १०
ओलीसँग राजदूतहरूद्वारा सामुहिक भेट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूतहरू तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले आज पार्टी कार्यालय, च्यासलमा सामुहिक भेट गरेका छन् ।

अध्यक्ष ओलीसँग अमेरिकी राजदूत र्‍याण्डि बेरी, बेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले भेटवार्ता गरेका हुन् ।भेटवार्तामा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी थिए ।

भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको र त्यसमा प्रमुख विपक्षी दल नेकपा एमालेको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पुर्‍याउनुपर्छ भन्ने उनीहरूको चासो र चिन्ता रहेको थियो ।नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उनीहरुको भनाइ थियो ।

सङ्क्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन हुनुपर्ने उहाँहरूको साझा चासो र चिन्ता रहेको थियो
। सो अवसरमा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए । ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट पेलपाल गरेर अगाडि बढाउनु न्यायोचित हुँदैन भन्ने मान्यता एमालेको रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस