मोरङमा मिटरब्याजीविरुद्ध ३७ जनाले दिए उजुरी

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १३ : ५९
मोरङमा मिटरब्याजीविरुद्ध ३७ जनाले दिए उजुरी

काठमाडौं । मोरङमा मिटरब्याजीविरुद्ध ३७ जनाले उजुरी गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले दिएको जानकारी यही ५ भदौसम्म ३७ जनाले उजुरी दिएका हुन् ।
    
ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिकासहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासोसहितका उजुरी परेको बताइएको छ ।

सयकडा तीनदेखि पाँचसम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् । 

ऋणीहरु एक लाखदेखि पाँच लाखसम्म ऋण लिएको र लिएको ऋणभन्दा पनि बढी ब्याज बुझाई सक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुवेदीले बताए ।सरकारले ५ भदौसम्म उजुरी दर्ता गर्न दिएको हदम्याद पछि पनि तीन उजुरी परेको र यी सबै उजुरीको अभिलेख राखी गृहमन्त्रालयमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मिटरब्याजीहरु ऋण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजीनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभएर देशव्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनुपर्ने बताएको छ ।
    
समस्यामा परेका मानिसलाई तत्काल बैंकले ऋण नदिने र समस्या समाधान गर्न मिटरब्याजीको सम्पर्कमा जाने गरेका पीडितले जति कमाए पनि सबै पैसा मिटरब्याजीलाई नै बुझाउनु परेको र तर पनि ऋणबाट मुक्त हुन नसकी आफ्ना सम्पत्ति अरुको कब्जामा गएको दुःख सहनयोग्य नभएको पीडित बताउँछन् ।
 
केही दिनअघि गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेको थियो । सरकारले मिटरब्याजीको समस्या समाधान गर्न भन्दै छानबिन समितिसमेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस