राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन हुँदै

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : ५४
राष्ट्रिय परिचयपत्रका लागि वडाबाट विवरण संकलन हुँदै

काठमाडौं । बाँकेमा आगामी असोज पहिलो हप्तादेखि वडाबाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिने भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपालगञ्जमा आयोजना गरेको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी समन्वय बैठकमा विभागका महानिर्देशक तीर्थराज भट्टराईले एउटा वडामा २ स्टेसन राखेर विवरण संकलन हुने जानकारी दिए ।

उनले अहिले ३८ जिल्लामा विवरण लिने काम सकिएको र १२ जिल्लामा जारी रहेको बताए । विभागले चालू आर्थिक वर्षमा ७० लाख मानिसको विवरण लिने र २० लाखलाई परिचयपत्र दिने रणनीति बनाएको छ । १६ वर्ष पुगेका नेपाली नागरिकलाई नागरिकता बनिसकेपछि राष्ट्रिय परिचयपत्र बनाउने गरिन्छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा भरिने विवरणले गर्दा नक्कल नहुने विश्वास गरिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस