मैत्रीपूर्ण खेलमा बार्सिलोना र म्यानचेस्टर सिटी भिड्दै

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १२ : ३८
मैत्रीपूर्ण खेलमा बार्सिलोना र म्यानचेस्टर सिटी भिड्दै

काठमाडौं । क्लब मैत्रीपूर्णमा आज स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्दै छन् । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार मध्यराति सवा १ बजे सुरु हुनेछ । खेलका लागि सिटीको टोली बार्सिलोना पुगेर दुई दिन प्रशिक्षण गरिसकेको छ। प्रशिक्षक पेप गुआर्डिअ‍ोलाले आफ्नो पूर्व क्लबविरुद्ध सिनियर टोलीकै खेलाडी उतार्ने वाचा गरिसकेका छन् ।

बार्सिलोनाले पनि सिनियर टोलीका खेलाडी नै उतार्नेछ । मैत्रीपूर्ण खेल भएकाले टोलीले चाहे जति खेलाडी परिवर्तन गर्न पाउँछन् । दुवै टोलीले यसपटक लिगमा खास अवसर नपाएका खेलाडीलाई मौका दिने सम्भावना छ । 

सिजनकोबीचमा मैत्रीपूर्ण खेल आयोजना गर्नुको कारण भने फरक रहेको छ । नशासम्बन्धी घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन खेल खेलाइन लागिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनलाई पनि  दिइनेछ ।यस्तै, स्पेन तथा बार्सिलोनाका पूर्वगोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिनेछ । उनलाई सन् २०२० मा एएलएस देखिएको थियो । उनी पेप बार्सिलोनाका प्रशिक्षक रहँदा गोलरक्षक प्रशिक्षक पनि थिए ।

प्रतिक्रिया दिनुहोस